रोजगारी वा अन्य कारणले प्रवासबाट आफ्नों उत्पत्ति भूमिमा फर्केकाहरु रिटर्नी माइग्रेन्ट हुन् । उनीहरुले प्रवासमा रहँदा आफ्नो पारिवारिक संरक्षण, सन्तानको शिक्षा, स्थायी संपत्तिको खरिद, व्यापार, लगानी वा अन्य कुनै रुपमा नेपालमा विप्रेषण भित्र्याए । यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुको अतिरिक्त शिक्षा, स्वास्थ्य, जीवनस्तर तथा शहरीकरणको विकासजस्ता संबृद्धिका सूचांक बृद्धिमा सहयोग पुगेको छ । मिहिनेत गर्ने बानी परेका यी रिटर्नीहरुको प्रवासमा रहँदाको विप्रेषणको जति महत्व छ, त्यो भन्दा बढी फर्केपछिको सीप र जाँगरमा देशको मुहार फेर्ने दृढ इच्छाशक्ति पाइन्छ । समयान्तरले उनीहरुको सोच र स्वदेशमा भएका परिवर्तनबीचको समायोजनमा रिक्तता रहेकोछ । उनीहरुको ज्ञान, सीप र जाँगरको समुचित व्यवस्थापन तथा नेपालमा रहेका अवसर र चुनौतिबीच समन्वय गर्दै पुनस्र्थापना कार्यमा सहयोग पुर्याउन एउटा सहयोगी संस्थाको आवश्यकता महसुस गरियो । फस्वरुप वैदेशिक रोजगारबाट फर्केकाहरुकै अग्रसरतामा रिटर्नी माइग्रेन्ट नेपाल नामको गैह्रनाफामूलक संस्थाको स्थापना भएको हो ।
प्रवासमा रहेकै अवस्थामा, फर्कदै गर्दा र फर्केपछि नेपालमा पूनस्र्थापनाकोलागि सहयोग गर्ने मूल लक्ष्य लिएर रिटर्नी माइग्रेन्ट नेपालको स्थापना भएको हो । बैदेशिक रोजगारबाट फर्केकाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनास“ग जोड्ने मूलविन्दुको रुपमा २०७५ असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिभिन्न ६३ जिल्लामा रहेका १ हजारभन्दा बढी रिटर्नी माइग्रेन्टहरुको सहभागितामा पूर्व प्रवासी श्रमिकहरुको राष्ट्रिय भेला‒२०७५ आयोजना गरियो । तात्कालीन श्रम तथा रोजगार, युवा तथा खेलकुद मंत्री सहित अन्य सरकारी विशिष्ट पदाधिकारीहरुको सम्बोधन र नेपाल सरकारले पूनर्थापना कार्यकोलागि सहयोगी संस्थाको रुपमा अंगीकार गरेको सो ऐतिहासिक अवसरलाई शुभारम्भ बिन्दू मान्दै देश विकासको मूलप्रवाहमा प्रवासी नेपालीहरुलार्ई जोड्ने अवसरको रुपमा रिटर्नी माइग्रेन्ट नेपाल नामक संस्थाको स्थापना भयो ।